आइतबारको दिन थियो। अफिसको काम केही दिन रिमोट गर्छु भनेर केही दिनअघि पोखरामा uncle को घर गएको थिएँ। त्यहाँ आफ्नो र अफिसका कामहरू सकेर करिब 1:३०–2:०० बजे लेक साइडतिर पनि घुमौँ, अनि सोमबार अफिस भेट्ने गरी रातिकै टिकट पनि काटौँला भन्ने सोचले uncle को घरबाट म, भाइ र uncle को एक जना साथी—हामी 3 जना—निस्कियौँ।
पहिला tourist bus park मा गयौँ र काउन्टरमा गएपछि बस सिट छान्ने कुरा भयो। 7 बजे बस पार्क र करिब 7:३० तिर पृथ्वी चोकबाट छुट्ने वाला बस रोजियो। अनि काउन्टरका दाइले वेबसाइट खोलेर कुन सिट रोज्ने भन्नुभयो, अनि केही सिटहरू खाली थिए।
झ्यालतिरको सिट हेर्दै गर्दा मैले सुरुमा अलि पछाडिको A साइडको सिट रोजेको थिएँ, जुन झ्यालतिरको मात्र खाली थियो। पछि अर्को भाइले “दाइ, B6 रोज्नु best हुन्छ” भन्यो, जहाँ दुबै (B5, B6) खाली थिए। धेरै नसोची “ल हुन्छ त, त्यही confirm गरौँ” भनेँ। अनि १४२१ नम्बरको Machhapuchhre Bus को झ्यालतिरको B6 को ticket भनेर १००० तिरेर अघि बढ्यौँ।
केही बेर लेक साइड घुमेर घर फर्कियौँ। बाँकी काम सकेर बेलुकातिर हजुरबुवाले खाना खुवाउनुभयो। केही दिनदेखि मलाई हल्का ज्वरो आएकोले “आज नगएर भोलि गए हुन्न र?” भन्नुभएको थियो। तर टिकट काटिसकेको थाहा पाएपछि “ल, राम्रोसँग जा। पुगेपछि आन्टीकोमा फोन गरेर खबर गर, अनि मलाई पनि पुगेको थाहा दे” भन्नुभयो। मैले “हस्” भनेर त्यहाँबाट बिदा भएँ।
केही बेर पृथ्वी चोकमा टिकट समातेर उभिएपछि “दाइ Machhapuchhre होइन र?” भन्दै एक जना भाइ आइपुग्यो। टिकट काट्न जाँदा बस पार्कमा देखेको थिएँ, र “हो हो” भनेँ। अनि बस चढियो।
बस भित्र छिरेपछि B6 सिटमा पुग्दा पहिल्यै एक जना दाइ बस्नुभएको रहेछ। मनमनै “मै झुक्किएँ होला, B5 झ्यालतिरको होला” जस्तो लाग्यो। उहाँलाई सोधिनँ, किनकि उहाँ कसैसँग call मा हुनुहुन्थ्यो। बस एकछिन पृथ्वी चोकमै रोकिरहेको थियो, अनि बाहिर निस्केर त्यही मलाई बससम्म ल्याएको भाइलाई सोधेँ—“B6 भनेको झ्यालको सिट हैन र?” उसले के भन्यो राम्रोसँग बुझिनँ; धेरै हल्ला थियो र ऊ पनि मान्छे खोज्दै थियो। त्यसैले फेरि सोध्ने काम नगरी खुरुखुरु बसभित्र गएँ।
रोजेकोभन्दा पछाडिको सिट खाली थियो, एकछिन त्यतै गएर बसेँ, मोबाइल हेरेँ। गाडी चलेको केही बेरपछि त्यो सिटको पनि टिकट काटेका मान्छेहरू आउनुभयो। त्यसपछि फेरि अगाडि नै गएर त्यही दाइको साइडमा बसेँ र केही बेर TikTok हेर्दै थिएँ। त्यो साइडको दाइ पनि आफ्नै पारामा हुनुहुन्थ्यो।
एकछिनमै टिकट माग्न बसको स्टाफ आउनुभयो। मैले आफ्नो टिकट दिएँ। त्यसपछि थाहा पाएँ—त्यो साइडको दाइले टिकट नकाटीकनै चढेका रहेछन्, र १००० रुपैयाँ निकालेर दिए।
त्यसपछि फेरि TikTok हेर्दै थिएँ। हल्का निद्रा पनि लागेको थियो। एउटा “MRR bhajan” भनेर अलि भाइरल भजन आयो—“देख्न पाइनँ राम भेट्न पाइनँ राम।” अनि YouTube मा त्यही भजन search गरेँ। त्यही भजनको AI version भेटेँ; राम्रो पनि रहेछ। लूपमै राखेर सुन्दै निदाएँ। केही समयपछि पिसाब फेर्न रोक्यो, अनि मुग्लिङ नजिकै कतै खाना खान पनि रोक्यो। बस हिँडेको केही बेरमै मैले गीत सबै बन्द गरेँ र फेरि निदाएँ।
निदाएकै बेला झ्याम्म सिसा फुटेको आवाज आयो। त्यसपछि लगातार बस पनि कता-कता घुम्न र पल्टिन थाल्यो। टाउको र अनुहारमा झ्याम-झ्याम लागेको जस्तो—दुखेको पनि थाहा छैन; सपनामा कसैले कुटेको जस्तो। सायद सुतिराखेको दिमागले सब कुरा त्यति छिटो process गर्न नसकेर होला—के भइरहेको छ केही थाहा थिएन। सायद त्यही बेला बेहोस भएँ होला। कसरी बस बाहिर शरीर निस्कियो, केही थाहा छैन। अलि पछि थाहा भयो—गाडी खोलातिर पुगे पनि हामी केही यात्रु अलिकति माथि भिरमै अड्केको रहेछौँ…
जब होसमा आएँ, तब बल्ल दुखाइ महसुस हुन थाल्यो—बेला बेला सहनै नसकिने। मध्यरात जस्तो समय भएर होला; बाँच्छु भन्ने आश नै थिएन। कुन ठाउँमा छु, कस्तो अवस्थामा छु—केही थाहा थिएन। देब्रे आँखा बन्द थियो; दाहिने जसोतसो खुल्यो। त्यतिबेला लाग्थ्यो—यदि बाँचेँ भने पनि एउटा आँखा सधैंका लागि गुमाएँ कि क्या हो। देब्रे आँखा छाम्दा eyelid फुलेर लगभग निधारको level मा आएको थियो, त्यो पनि रगतले पुरिएको। अनुहारको देब्रे भाग छाम्दा रगत र बालुवामात्र थियो। ढाड र घाँटी चलाउनै मिल्दैनथ्यो, तर कम्मर मुनि खुट्टाहरू र हातहरूमा साना घाउ बाहेक भित्री चोट खासै थिएन।
मैले सुरुमा थाहा पाएको वरपरको माहोल:
मेरो वरपर केही मान्छेहरू थिए, तर कति थिए थाहा छैन। आँखाले खासै मेसो नपाए पनि कानले धेरैजसो मान्छेहरूको रोइकराइ र चित्कारमात्र सुन्थ्यो। कतै कतै कोही फोनमा पनि बोलेको जस्तो लाग्थ्यो; सायद police लाई खबर गरेका होलान्। मेरो काखमै राखेको ल्यापटप, मोबाइल, चस्मा (-६.५ पावरको) कता छ—थाहा पनि थिएन, मतलब पनि थिएन। कोही “पानी, पानी” भन्दै रूँदै थिए। मेरो छेउमा एक महिलाले आफ्नो (बेहोस वा मृत—थाहा छैन) श्रीमान्को छाती पिट्दै “मेरो बुढालाई उठाइदिनु न” भन्दै रुँदै गरेको थाहा पाएँ।
म पनि त्यहाँ अरूजस्तै “पानी, पानी” भन्दै कराउँदै थिएँ, तर कतैबाट केही पाइएन। होसमा आउँदा लाग्थ्यो बाँच्दिनँ। तर सानैमा न्वारान गर्ने बेला ज्योतिषले भन्नुभएको कुरा—“तिम्रो छोरो कसैले मर्यो भनेर कालीमा लगेर फाले पनि बाँचेर आउने ग्रह छ”—भनेर ममीले सम्झाएको कुरा याद आउँदा लाग्थ्यो मर्दिनँ। तर बाँचेँ भने पनि एउटा आँखा साँच्चिकै गुमेको रहेछु भने? ढाडको चोट अलिकति खतरनाक हुन्छ भन्ने सुनेको थिएँ—कहिल्यै राम्रोसँग उठ्न नसकेँ भने? त्यही क्षणमा मलाई मेरा बाबा-आमा, हजुरबुवा-हजुरआमा, र हृदयबाट नजिक भएका मानिसहरू मात्र याद आउँथे। किनकि म उनीहरूका लागि मात्र भए पनि बाँच्न र सकुसल हुन चाहन्थेँ।
त्यतिबेला मेरो नजरमा जिन्दगी सफल हुनु भनेको आफ्ना बुवा-आमालाई बुढेसकालमा सुखी र खुसी जीवन दिनु थियो। सायद यही कारणले बुवा-आमाले आफ्नो सन्तानलाई सबै कुरा दिएर हुर्काउँछन्। बाँकी कमाइ, पैसा र career त बाँचुन्जेल अघि बढ्न मात्र थियो—जसको त्यतिबेला मलाई 1% पनि मतलब थिएन। मेरो जीवन नै मेरो नियन्त्रणमा थिएन; बाँचेँ भने बाँच्नु पनि भाग्यले मात्र जस्तो लाग्थ्यो।
मलाई केही भयो भने मेरो आसमा बसेका परिवारले के गर्छन् होला जस्तो लाग्थ्यो। केवल मेरो अनुहार हेरेर २२-२5 वर्ष कहिले साउदी, कहिले दुबई, कतार—खाडी बसेर, 2 वर्षअघि मात्र सब छोडेर घर फर्केका मेरो बाको हालत के होला? अनि त्यो आमा—जसको बयान गर्न शब्द नै छैन। केही वर्षदेखि मलाई कुरेर बसेकी प्रेमिकाले के गर्लिन्? बरू job/career पहिले सोचेको जस्तो नभए पनि चल्छ; म केवल उनीहरूका लागि मात्र भए पनि बाँच्न चाहन्थेँ।
यता उता “पानी, पानी” भन्दै थिएँ; कसैले घरमा खबर गरिदिएको भए हुन्थ्यो भन्थेँ। तर कसैले सुन्दैनन्—सायद उनीहरू पनि म जस्तै थिए। अनि न “आमा” भनेर आमा सुन्छिन्, न “बा” भनेर बा सुन्छन्; मध्य रात छ, कसलाई के भन्ने। सायद accident अघि भजन सुन्दै निदाएको भएर होला, मेरो आश र मनोबल बढाउने “राम नाम” बाहेक अरू নির্দিষ্ট केही पाइनँ। पहिले सुनेको थिएँ—शरीरले प्राण त्याग्ने बेला कसैको मन-मस्तिष्कले भगवान्को स्मरण गर्न भ्यायो भने सायद उसले मुक्ति पनि पाउला।
म मरेँ भने मलाई होला; नत्र कसैको शरीरमा अन्तिम सास चलिरहेको छ र त्यो कानमा पर्यो भने उनीहरूलाई पनि केही होला भनेर। अरू केही कुराको आश थिएन—धेरै (सबै हैन) कुरा बाट मोह छुटिसकेको थियो। र त्यो अवस्था मा छुट्दो पनि रहेछ। बरू लाग्थ्यो बाँचिहाले केही न केही समाजलाई दिन्थे होला। के भन्ने—पछि सोचौँला। धेरैजसो समय म चाहिँ बाँच्छु नै जस्तो लाग्थ्यो।
कसले देखेको छ, कसले मेरो आवाज सुनेको छ—मध्य रात कति जीवित छन्, कति मृत—थाहा छैन। अनि फेरि सानो स्वरमा “हरे राम हरे राम राम राम हरे हरे; हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे” भन्दै धेरै बेर गुनगुनाएँ। निकै बेरपछि rescue team पनि आउनुभयो, तर ठाउँ अलि अप्ठ्यारो भिरमा भएकोले सबैलाई छिटो-छिटो निकाल्न पनि गाह्रो छ भन्ने सुनें। दुखाइ असह्य हुँदा जिन्दगीभर अरूको बोझ भएर बस्नु पर्छ कि भन्ने सोचेर, रेस्क्यु टिमलाई “दाइ, यो भिरबाट पल्ट्याइदिनु न; धर्मै होला। यो अवस्थाबाट मुक्ति दिनुभयो भने…” भन्नसम्म पनि भ्याएको थिएँ। सायद बेहोस नै भएको भए पीडा कम हुन्थ्यो होला।
अनि केही समय लगाएर डोरी बाँधेर—हो या कसरी—भिरबाट निकालेर तलतिर राख्दै हुनुहुन्थ्यो। अलि मिल्ने लाई पहिला लानुभयो। मलाई ढाड र घाँटीमा धेरै चोट लागेकोले उठ्न पनि, एक जनाले मात्र त्यो ठाउँबाट रेस्क्यु गर्न पनि नमिल्ने थियो। केही समय अरूलाई निकालेपछि २ कि 3 जना भएर एउटा कपडामाथि मलाई राखेर, त्यहाँबाट अरूलाई जस्तै तिर लगेर राख्नुभयो। “एकछिनमा boat आउँछ है, लिन” भनेर जानुभयो, र एकैछिनमा अर्को एक जनालाई लिएर आउनुभयो र मेरो छेउमा राख्नुभयो। म चाहिँ आफ्नै धुनमा कहिले “राम राम” त कहिले “om krishnaya vashudevaya haraya paramatmane pranataha kalesha nasaya govindaya namo namaha” भन्दै आवाज निकाल्दै जप्दै रहेँ। त्यहाँ पनि धेरै बेर पल्टिनु पर्यो।
फेरि एकछिनपछि rafting team पनि हाम्रो छेउमा आउनुभयो। मेरो छेउको मान्छेलाई पहिला हाल्न खोज्दै हुनुहुन्थ्यो; फेरि घाँटी तिर छामेर भन्नुभयो—“शरीर चिसै भइसकेछ, उता पट्टि पनि १०-१२ वटा लास मात्र छन्।” त्यो सुनेर झसङ्ग भएँ र भनेँ—“दाइ, यहाँ म जीवित छु।” अनि मलाई र अर्को एक जनालाई boat मा हाल्नुभयो।
त्यहाँबाट अलि पर एम्बुलेन्ससम्म लगियो। एम्बुलेन्समा केही समय कुरेर 2 जना अझ थपेर राजमार्ग सामुदायिक हस्पिटलसम्म पुगियो। त्यो समय बाहिर संसारबाट लगभग disconnected थिएँ। आँखा बन्द गर्दा बित्तिकै अर्को अति सुन्दर तर अलि धमिलो जस्तो दुनियाँमा पुग्थेँ, जहाँ कहिले १७-१८ वर्षअघि छोडेर जानुभएको घरको हजुरआमा र कुनै बेला १ दशकअघि छोडेर जानुभएको मामाघरको बुवासँग बाल्यकालका झिना सम्झनाहरू फेरि बाँच्दै थिए।
अनि त्यहाँ एउटा सलाइन पानी चढाएर, अलि अलि मलमपट्टी गरेर, अनुहारमा लागेको माटो र बालुवा सफा गरेर, निधारमा टाँका लगाएर, “CT Scan गर्नु पर्छ, तुरुन्तै काठमाडौं लैजानु” भन्नुभयो।
त्यसपछि विस्तारै अलि राम्रोसँग बाहिरको कुरा मेसो पाउन थालेको थिएँ।
कुन हस्पिटल जाने भन्ने कुरा हुँदा कलंकीकै नेपाल नेसनल हस्पिटल जाने भन्ने कुरा भयो। मैले एम्बुलेन्स चालक दाइलाई “घरमा फोन गरिदिनु न दाइ” भनेर बाबाको नम्बर दिएँ, र उहाँले खबर गरिदिनुभयो। त्यतिबेला सायद बिहानको 5 बज्न लागेको थियो। एकछिन त बा-आमाको मनमा के बित्यो—सोच्न पनि सक्दिनँ। बाबा अलि सम्हालिएर uncle र काठमाडौंमा रहनुभएका आफन्तीलाई पनि खबर गर्नुभएछ। आवाज मात्र सुन्न भए पनि धेरैले एम्बुलेन्स चालक दाइकोमा फोन गर्नुभयो। म त्यो अवस्थाअनुसार बोल्न पनि राम्रै बोल्थेँ।
अनि लगभग 7 बजे तिर कलंकी अस्पताल पुगियो। पुग्दा बुवा-आमा (बाबाको अंकल-आन्टी), अंकल र बहिनी त्यहाँ पहिल्यै आएर बस्नु भएको थाहा पाएँ। देब्रे आँखाले चाहिँ राम्रोसँग हेर्न मिल्दैनथ्यो; दाहिने त खोल्नै मिल्दैनथ्यो। जिउँदै नरकबाट फर्किएपछि आमा-को नाताले पहिलो पटक मेरो हात जसरी समात्नुभयो, सायद कहिल्यै बिर्सनुहुन्न होला।
त्यसपछि X-ray र CT Scan भयो। केही बेरपछि मेरुदण्डको [C7, D6, D7, D8, D9, D10, D11, D12] हड्डीहरू crack भएको रहेछ। डाक्टरले भन्नुभयो—“यो त लाखमा एक केस हो, ज्यान पनि जोगियो र त्यो चोटमा paralysis भएन। नत्र अलिकति पनि तल-माथि भयो भने paralysis हुन्छ। तर अझै पनि ख्याल गर्नु पर्छ; crack भएको ठाउँमा नसा गयो भने फेरि नराम्रो हुन सक्छ।”
त्यसपछि ICU मा लगेर उपचार गरियो। त्यही दिन ICU मा भर्ना भएको केही समयपछि ममी पनि गाउँदेखि त्यहाँ पुग्नुभयो। पहिलो पटक ममीलाई देख्दा खै किन-किन भक्कानो छुटेर आयो; अगाडि नै रोएँ, control पनि भएन। ICU मा पनि पहिलो हप्ता आधा होस, आधा बेहोसी जस्तो हुने रहेछु। गाह्रो पनि हुन्थ्यो—सास फेर्न गाह्रो, नाक बन्द हुने, घाँटीमा खकार आउने। निल्ने बाहेक अरू विकल्प थिएन। एक दिन अति नै गाह्रो भएपछि त्यो खकार बाहिर फाल्दा त्यसमा रगत मात्र जमेको, रगतको डल्लो जस्तो देखियो।
पछि केही चेकजाँचहरूबाट पत्ता लाग्यो—दाहिने फोक्सोमा लगभग 800-900 ml र देब्रे फोक्सोमा लगभग ३०० ml जस्तो रगत जमेको रहेछ। दाहिने साइडमा 1 हप्तासम्म पाइप राखेर निकालियो।
ICU मा साथीभाइ र आफन्तीहरू भेट्न आउनुहुन्थ्यो, र धेरैले भन्नुहुन्थ्यो—“बाबुलाई भगवान्ले हात त थापेकै हुन्।” कहिलेकाहीँ ममी, भाइ र बहिनीलाई भन्थेँ—यदि म फेरि पनि पहिलेको जस्तै भएँ भने यो समाजलाई मेरो तर्फबाट केही दिन चाहन्छु, तर के, कसरी, कहिले—केही थाहा छैन। तर म जीवित रहनु र paralyse नहुनु—भाग्यले रचेको स्क्रिप्टभन्दा कम थिएन।
अर्को कुरा—घरमा ग्रह कटाएको जम्मा १६ दिन भएको थियो। लाग्थ्यो, त्यो तरिकाले त्यसरी बाँच्नुमा पक्कै पनि मेरा पुर्खा/बाउ-आमाले गरेको धर्मले पो हो कि। मैले त के नै राम्रो काम गरेको छु र—खै केही याद नै थिएन।
सोचाइ यस्तोसम्म आउँथ्यो—कसैले गाली गर्दै हिँड्छ, मुखमा आएको बोल्छ, अथवा जति नै हेपे पनि “भगवान्, तेरो भला गरून्” भनेर छोडिदिन्छु। किनकि भगवान्ले मलाई त्यो दिनुभयो जो हर कोहीले पाउँदैन—ठाउँको ठाउँ नयाँ जीवन। के थाहा, जुन सिटको टिकट काटेको थिएँ, त्यही सिटमै बसेको भए मेरो हालत के हुन्थ्यो; उहाँलाई नै थाहा होला। जिन्दगीमा सायद पहिलो पटक थियो—आफूले टिकट काटेको सिटमा नबसेको।
पहिले- पहिले लाग्थ्यो जसरी भए पनि पैसा कमाउन पाउँ। तर दुर्घटनापछि लाग्न थाल्यो—यदि कुनै धन-सम्पत्तिले मेरो मनमा अलिकति पनि रिस, राग र अहमता ल्याउँछ भने मलाई त्यो चाहिँदैन। मलाई यति कुरा पनि थाहा थिएन कि त्यो सब यति सजिलै सम्भव नै छैन। यही कुरा ममी, बहिनी, भाइहरूलाई खाना खुवाउन आउने बेला भन्थेँ; खासै केही भन्दैनथे |
र एक महिना हस्पिटलमा बस्दा त्यो समय मा भाई, बहिनी र ममी ले जुन तरिका ले हस्पिटल मा मेरो सेवा गरे त्यो मैले जिन्दगी मा कहिल्यै बिर्सिनु हुन्न र उनीहरू को सधैँ आभारी हुनेछु। सायद कहिल्यै ज्यान दिन परे नी पछि हट्दिन होला उनीहरू को लागि।
म चाहन्थेँ—यो दुर्घटना मा जे भोगेँ, जे देखेँ, त्यो सब कहिल्यै नभुलौँ। त्यसैले यो सब यहाँ लेख्दै छु
